दसैँ सम्झाउने ‘शारदीय कविता उत्सव’

काठमाडौँ-दसैँं प्रारम्भ भएको पहिलो दिन आज २१ कविले आफ्ना मनभित्र गुम्सिएका भावनालाई कवितामा व्यक्त गरेर चाडपर्वले नेपालीहरूका सुखद् दिन देख्ने सपना पूरा गरोस् भन्ने कामना गरेका छन् । त्रिशूली वाङ्यमय प्रतिष्ठानले विगतमा झैं यस वर्ष पनि घटस्थापनाकैै दिन ‘शारदीय कविता उत्सव’ आयोजना गरेर कवि र साहित्यिक व्यक्तित्वलाई जमघट गराएको थियो । एकापसमा शुभकामना आदान प्रदान गर्नुपर्ने बेलामा निराशा र पीडा व्यक्त गर्नुपरेको भावना कवि र वक्ताबाट आएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले जनतालाई घर जान बसको टिकट दिन र पहिराले पुरिएका मानिसलाई उठाउन नसक्ने सरकारी व्यवहार देखिएको भन्दै यस्तो स्थितिमा दसँैं सुखद् बन्न नसक्ने बताए । उनले नेपालमा भएका सबै जातिको इतिहास र तिनका बीचमा उचित समन्वय गर्न शीर्ष नेताहरू सक्षम नभएको भन्ने विषयमा वाचित कविताले समस्याको पहिचान गरेको बताउँदै दसैंँ आफैँमा समावेशी चाड भएको उदाहरण प्रस्तुत गरे । “किराँतपुत्र महादेव र आर्यपुत्री पार्वतीको विवाह भएको अवसरमा मनाइने दसैँ आफैमा समावेशी छ, यसमा कसैले भ्रम पाल्नु आवश्यक नभएको  डा प्रश्रितले बताए ।

कार्यक्रममा कविहरू भुवनहरि सिग्देल, डा बमबहादुर जिताली, श्याम रिमाल, नवराज लम्साल, हरिमाया भेटवाल, छवि अनित्य, डा टीकाराम भण्डारी, तर्कना शर्मा, प्रोल्लास सिन्धुलीय, कला अनुरागी, विद्या सापकोटा, सङ्गीत स्रोता, मनोज न्यौपाने, रेनुका भट्ट, राबत, यशोदा अधिकारी, केशव सिलवाल, बालाकृष्ण अधिकारी, भाग्यशाली अधिकारी, सीताराम अधिकारी र लक्ष्मी रूम्बाले मुलुकको अन्योल, दलित र महिलाले भोग्नुपरेका पीडा आदि विषयमा कविता वाचन गरेका थिए ।