हिसाका कारण डेढ महिनामा २७ महिलाको मत्यु

असोज ९, काठमाडौँ – महिलामाथि हुने हिंसाका कारण डेढ महिनाको अवधिमा २७ महिलाको ज्यान गएको छ । सञ्चारिका समूह नेपालले साउन १६ देखि भदौ ३१ गतेसम्म विभिन्न सञ्चारमाध्यममा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, राजनीतिक र अन्य गरी विभिन्न शीर्षकमा गरेको अध्ययनबाट यो नतिजा देखिएको देखिएको हो । डेढ महिनाको अवधिमा १४ वटा दैनिक पत्रपत्रिकामा ३५ वटा बलात्कारका घटना, महिला बेचबिखनका नौ, महिलाकोे स्वास्थ्य अधिकार हननका ६६, यौन दुव्र्यवहारका १७, घरेलु हिंसासँग सम्बन्धित १२, दाइजोसँग सम्बन्धित १९ र बहुविवाहका तीन समाचार प्रकाशित भएका थिए । यस्तै, सोही अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय पाँच, फोटो समाचार आठ, लेख ७५ र समाचार ६९५ वटा प्रकाशित भएका थिए । सञ्चार अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँपत्रिका, गोरखापत्र, हिमालय टाइम्स, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, द काठमाण्डु पोष्ट, रिपब्लिका, दि हिमालयन टाइम्स र दि राइजिङ नेपाल समेटिएका थिए ।