शीर्ष दलबिच गतिरोध अन्त्यका लागी आज निर्णायक छलफल

असोज ९,काठमाडौं-लामो समयदेखि अवरुद्ध हुँदै आएको संसदको गतिरोध अन्त गर्ने पहलमा प्रमुख दलहरुले आज पनि छलफललाई निरन्तरता दिदै छन् । प्रतिपक्षी दलहरुले गत पुसमा भएको चार बुँदे सहमती कार्यान्वयनको माग गर्दै गत भदौ १३ देखि संसदको बैठक निरन्तर अबरुद्ध गर्दै आएका छन् । संसद अबरोधले अर्थतन्त्र नै प्रभाबित हुने अवस्था आएपछि सत्तारुढ दलहरु सहमती कार्यान्वयन गर्न तयार भएका छन् ।

पुर्वसहमती अनुसार उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र त्यसको नेतृत्व एकीकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिन सत्तारुढ दलहरु सहमती नजिक पुगेका छन् । यस्तो समितिले संबिधान निमार्णमा संबिधान सभाको भुमिका हस्तक्षेप नगर्नेगरि शान्ति प्रकृयाका बाँकी कार्य टुंग्याउने दलहरुबीच सहमती कायम गर्ने पहल गर्ने भएको छ । समितिको कार्यकाल ६ महिनाको मात्रै हुने भएको छ ।

समितिमा प्रमुख तीन दल मात्रै रहने वा अन्य दलहरुलाई पनि सहभागि गराउने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न बाँकी छ । आज पुनः छलफल गरेर दलहरुको सहभागिता बारेको बिबाद टुंग्याउन पहल गरिने नेताहरुले बताएका छन् । दलहरुबीच आज सहमती भए करीब महिनादिनदेखि जारी संसदको अबरोध पनि हट्ने बताइएको छ ।