वादी महिलाद्धारा देह व्यापारमा निरन्तरता

असोज ८, धनगढी-आयआर्जन गर्ने कुनै अवसर नपाएपछि कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न थालेका छन् ।  वादी समुदायका महिलाले जीविकोपार्जनका लागि बाध्यत्मक रुपमा यौन पेसा गर्दै आएकोमा सरकारले विसं २०६५ मा यो समुदायले यौन पेसा गर्न नपाउने भन्दै त्यसको अन्त्यको घोषणा गरेको थियो ।
गाँस, बास र कपासको उचित व्यवस्था गर्न माग गर्दै काठमाडौँमा वादीद्वारा गरिएको आन्दोलनको फलस्वरुप सरकारले यौन पेसाको अन्त्यको घोषणासहित उनीहरूको पुनःस्थापना गर्ने प्रतिबद्धता गरेको थियो ।

यौन पेसाको अन्त्यको घोषणा गरिएको भए पनि उनीहरूको उचित पुनःस्थापनाको व्यवस्था हुन नसक्दा अहिले कतिपयले विभिन्न बहानामा भारतमा गई देह व्यापार गर्ने गरेको पाइएको वादी समुदायका अगुवा बताउँछन् ।यो समुदायका युवती तथा महिलालाई उनीहरूकै आफन्तले भारतमा लगेर देह व्यापारमा लगाउँछन्, वादी समुदाय उत्थान विकास समितिका निर्देशक शिविराज रानाभाडले भन्नुभयो “यौन पेसाको अन्त्यको घोषणापछि प्रभावकारी रुपमा वादीको पुनःस्थापनालगायतको व्यवस्था हुन नसक्दा कतिपय वादी युवती तथा महिला भारतमा गएर देह व्यापारमा लाग्न बाध्य भएका हुन् ।”