संविधान सम्बन्धी नयाँ विषयमाथि छलफल सुरु

असोज ८, काठमाडौँ-संविधानसभाअन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा संविधानसम्बन्धी प्राप्त नयाँ विषयमाथि वर्गीकरण गरी छलफल सुरु भएको छ । बैठकमा संवाद समिति गठन भएयता विभिन्न माध्यमद्वारा सरोकारवाला निकाय र संस्थासँग संविधान निर्माणका सम्बन्धमा गरेको वार्ता तथा छलफलबाट प्राप्त नयाँ सुझावमाथि छलफल भएको हो ।

पहिलो संविधानसभामा प्रवेश नपाएका विषय, हाल छलफलको क्रममा उठेका नयाँ विषय र विभिन्न सरोकारवाला पक्षसँग भएका सम्झौताका क्रममा उठेका संविधानसम्बन्धी विषयहरूमाथि वर्गीकरण गरी छलफल सुरु भएको समितिका सभापति डा बाबुराम भट्टराईले बताए । समितिले प्राप्त सयाँैको सङ्ख्याका ती विषयलाई वर्गीकरण गरी सम्बन्धित उपसमितिमा पठाउने र यही असोज १४ गतेसम्म बिहानदेखि बेलुकासम्म निरन्तर बैठकमा छलफल गर्ने निर्णय गरेको समितिका सभापति भट्टराईले जानकारी दिए ।

संवाद समिति मातहतका उपसमितिले पहिचान गरेका संविधानमा रहने नवीनतम् अन्तरवस्तुको प्रावधान तथा तत्कालीन संविधानसभाअन्तर्गतको विवाद समाधान उपसमितिले दिएको सुझावमा समेत छलफल सुरु भएको छ ।