औषधिसमेत लिन नमानेका कारण अधिकारीको निधन-सरकार

असोज ८,काठमाडौं-सरकारले आमरण अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गरिएको भए पनि खाना खान र विशेषज्ञ चिकित्सकहरूले सिफारिस गरेका औषधि उपचार सेवा लिनसमेत नमानेका कारण उनको दुःखद निधन भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजुमानसिंह मल्लले मंगलबार विज्ञप्ति जारी गरी अधिकारीको निधनबारेमा सरकारको प्रतिक्रिया सार्वजनिक गर्दै उनको निधनप्रति गम्भीर शोक प्रकट गरेको छ । छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै आमरण अनसन बसेको ३ सय २९ दिनमा नन्दप्रसादको सोमबार निधन भएको हो ।
आजको कान्तिपुर दैनिकमा समाचार छ , सरकारले नन्दप्रसादका छोरा कृष्णप्रसादको हत्याको मुद्दा गत चैत ३० मा नै चितवन जिल्ला अदालतमा दर्ता भई अनुसन्धानबाट अभियुक्त ठहरिएका रुद्र आचार्य मुलुकबाहिर रहेकाले पक्राउ गर्न रेड कर्नर नोटिससमेत जारी भइसकेकाले उनको आमरण अनसन पहिल्यै असान्दर्भिक भइसकेकोसमेत उल्लेख गरेको छ ।
सरकारले नन्दप्रसादको निधनपछि पनि उनका छोराको हत्याको घटनामा नेपालको मान्य न्याय प्रणालीबमोजिम जारी न्यायिक उपचार प्रक्रियाले साबिक झैं निरन्तरता पाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । सरकारले नन्दप्रसादको शव बुझ्न उनको परिवारलाई आग्रहसमेत गरेको छ ।