सेनाले गरेको हवाई आक्रमणमा ४२ जनाको मृत्यु

असोज ७, काठमाडौं-सिरियाको उत्तरपश्चिम क्षेत्रका दुई वटा शहरहरुमा सरकारी सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम प्रान्तको सराकेब सहरको बाहिरी इलाकामा भएको आक्रमणमा ६ जना बालबालिकासहित १९ जनाको मत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यन राइटसले जनाएको छ । त्यस्तै आइतबार नै अर्को शहर इसिममा गरिएको हवाइ आक्रमणमा १० बालबालिका सहित २३ जना मारिएको खबर छ । सिरियामा सन् २०११ बाट सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामको माग गर्दै सुरु भएको जनआन्दोलनले उग्र रुप लिइरहेको छ । सिरियाको उत्तरपश्चिम क्षेत्रमा सिरियाली विद्रोहीको बलियो प्रभाव रहेको छ । गृहयुद्धका कारण सिरियामा सन् २०११ देखि अहिलेसम्म करिब २ लाख नागरिकले ज्यान गुमाइसकेका छन् ।