विवादित विषय टुङ्गो लगाउनुपर्छ–नेता नेपाल

असोज  ५,काठमाडौँ-नेकपा एमालेका नेता माधवकुमार नेपालले पछिल्लो पटक संवैधानिक संवाद समितिले प्राप्त गरेको दुई साताको समय अवधिभित्र विवादित विषय टुङ्गो लगाउनुपर्ने बताएका छन् । एमाले निकट  निकट प्रगतिशील वैदेशिक रोजगार व्यावसायिक मञ्चले दसै, तिहार, छठ तथा इदका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले यस अवधिमा विशेषगरी सङ्घीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा विभिन्न दलबीच देखिएका मतभिन्नतामा साझा सहमति कायम गर्नुपर्ने औँल्याए ।

उनले मुलुकको अर्थतन्त्रलाई फराकिलो बनाउन विप्रेषण क्षेत्रको ठूलो योगदान रहेको बताउँदै  वैदेशिक रोजगारीका क्षेत्रमा भएका विकृति हटाउन सम्वन्धित व्यवसायी इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए । नेता नेपालले मुलुकमा संविधान जारी भएपछि जलस्रोत, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई विदेश जानबाट रोक्नुपर्ने विचार व्यक्त गरे ।