एकादेशमा युवाहरुका फिल्म!

असोज ५, काठमाडौँ-शुक्रबार सुरु भएको एकादेशमा फिल्म महोत्सवसँगै निरञ्जनराज भेटवालको पनि औपचारिक फिल्मयात्रा सुरु भएको छ। काठमाडौंको ओस्कार कलेजबाट फिल्ममा स्नातक सिध्याउने तरखरमा रहेका निरञ्जनको फिल्म ‘काफल पाक्यो’ फेस्टिभलको उद्घाटनमा प्रदर्शन गरियो। तेस्रोपटक हुन लागेको फेस्टिभलमा देशविदेशका सर्ट फिल्महरु देखाइन्छन्।दस वर्षे युद्धकालको परिवेश रहेको फिल्ममा गाईलाई वर लगाउन गाउँगाउँ डुल्ने दाजुभाइको प्रसंग छ। वयष्क उमेरका पुरुषहरु घर छाडेर जाँदा गाउँमा छाएको सन्नाटालाई फिल्मले यथार्थ रुपमा उतारेको छ।
कुमारी हलमा आइतबारसम्म चल्ने फेस्टिभलमा ओस्कार कलेजका सुदीप भाजु र कला संग्रौलाका फिल्महरु पनि समावेश छन्। सुदीपको फिल्म ‘लेट मि नो’ आइतबारै प्रदर्शन हुनेछ। कलाद्वारा निर्देशित ‘बुट्टेजामा’ चाहिँ शनिबार देखाइयो। झापामा खिचिएको फिल्ममा ताजपुरिया बालिकाको नयाँ लुगा लगाउन चाहने मनोविज्ञान पस्किएको छ। ‘आफ्नो वा आफू परिचित कथा भन्नुपर्छ भन्ने कुरा कलेजमा सिकाइएको थियो, त्यसैले मैले बाल्यकाल बितेको ठाउँ र पात्रहरुलाई देखाएकी छु,’ कलाले भनिन्। सुदीपले चाहिँ सामान्य पात्रको मनोदशालाई पत्रे्कका छन्। ‘ओस्कार कलेजमा पढ्दा फिल्मी माहौल र सरसंगत मिल्यो,’ सुदीपले भने, ‘अहिले एकादेशमा आफूलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ।’ पहिलेदेखि नै फिल्म रमाइलो लाग्ने हुनाले कलेजमा फिल्म नै पढेको बताउँछन् उनी।
पोहोर साल ६० सेकेन्ड फिल्म कम्पिटिसनमा पहिलो पुरस्कार जितेका सञ्जय चौलागाईं ‘माछाको सपना’ फिल्म लिएर फेस्टिभलमा सहभागी हुँदैछन्। काठमाडौंमा स्थापित हुने सपना बोकेर गाउँबाट आएका पात्रहरुको कथा रहेको फिल्म शनिबार देखाइयो। अहिले छोटो फिल्म बनाइरहे पनि भविष्यमा लामो फिल्म बनाउने उनको योजना छ। सञ्जयले स्वअध्ययनबाट फिल्मको काम सिकेका हुन्। उनीजस्तै आफैं सिक्दै आएका सन्दीप गुरुङको फिल्म ‘क्रान्ति जारी छ’ फेस्टिभलमा शनिबारै प्रदर्शन भयो। पूर्वछापामारको अनुभवमा आधारित फिल्ममा उनले द्वन्द्वकालको सेरोफेरो खडा गरेका छन्। फेस्टिभलमा आइतबार नेपालका ‘सिद्धार्थ’, ‘क्यार क्यार पंखा’, ‘त्रास’, ‘मलबेरी म्याडनेस’, ‘ह्वाट दि प्याज’ लगायत फिल्म प्रदर्शन हुनेछन्। फेस्टिभलमा गौरी मल्ल, पूजा गुरुङ र सुजन चित्रकार सम्मिलित जुरीले उत्कृष्ट फिल्महरु छनोट गर्नेछ। नागरिक दैनिकमा खबर छ ।