निर्धारित समयमानै संविधान जारी गर्नुको विकल्प छैन: दलका नेताहरू

असोज ५, काठमाडौ-विभिन्न राजनीतिक दलका नेताले माघ ८ भित्रमै संविधान जारी गर्ने गरी संविधानका विवादित विषयमा तीव्र छलफल भइरहेको बताएका छन् । बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सवमा आयोजित अन्तक्र्रियामा दलका नेताले संविधानका विवादित विषयमा सबै दलले लचकता अपनाएर भए पनि सहमतिका आधारमा माघ ८ भित्रमा संविधान जारी गर्नुको विकल्प नभएको बताएका छन् । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मुलुकमा व्याप्त बलात्कार, हत्या, हिंसा, अपहरण, छुवाछूतजस्ता घटनाको अन्त्य गर्नका लागि पनि जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् चन्द्र भण्डारीले निर्धारित समयमै संविधान जारी गर्न नागरिक समाज, वुद्धिजीवी तथा सरोकारवाला सङ्घसंस्थाको सकारात्क दबाबको आवश्यकता औँल्याएका छन् । एकीकृत नेकपा माओवादीका नेता रामनारायण बिडारीले पछिल्लोपटक दलका नेताहरू संविधान निर्माणमा केन्द्रित हुनुको सट्टा व्यक्तिगत र पार्टीगत स्वार्थमा मात्र केन्द्रित भएको आरोप लगाए । सो पुस्तक प्रदर्शनीमा अहिलेसम्म संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, उद्योगमन्त्री महेश बस्नेत, विभिन्न राजनीतिक दलका नेता तथा सभासद्, बुद्धिजीवी, समाजसेवीलगायतले अवलोकन गरेका छन् ।

गत २७ गतेदेखि सुरु भएको प्रदर्शनीमा फिनिक्स प्रकाशन, पाँच पोखरी प्रकाशन, ऐरावती प्रकाशन, डिकुरा प्रकाशन, पैरवी बुक हाउस, प्रगति पुस्तक सदनलगायत करिब १२० प्रकाशनले प्रकाशन गरेका पुस्तक राखिएका छन् । गत भदौ २७ गतेदेखि सुरु भएको प्रदर्शनीमा फिनिक्स प्रकाशन, पाँच पोखरी प्रकाशन, ऐरावती प्रकाशन, डिकुरा प्रकाशन, पैरवी बुक हाउस, प्रगति पुस्तक सदनलगायत करिब १२० प्रकाशनले प्रकाशन गरेका पुस्तक राखिएका छन् ।