बेनी–जोमसोम सडकमा भाडादर समायोजन

असोज ५,काठमाडौं –बेनी–जोमसोम भाडादरमा एकरुपता कायम हुने भएको छ। उक्त सडककमा लामो समयदेखि सार्वजनिक यातायातका साधनहरुमा यातायात व्यवसायीहरुले आफूखुसी निर्धारण गर्ने गर्दै आएकोमा अबदेखि अब समायोजन भएर मध्य दरको मुल्य निर्धारण हुने भएको हो । धौलागिरी अञ्चलका चारैजिल्ला म्याग्दी,बागलुङ,पर्वत र मुस्ताङका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख,यातायात व्यवसायी र यातायात व्यवस्था कार्यालयका प्रतिनिधिहरुको शुक्रवार बागलुङमा सम्पन्न बैठकले नयाँ भाडादर समायोजन गरेको छ। धौलागिरी यातायात व्यवस्था समितिको बैठकले बेनी–जोमसोम सडकमा संचालन हुने सवारी साधनमा प्रतिव्यक्ति ७५० रुपैयाँ भाडादर कायम गरेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकवहादुर केसीले जानकारी दिए। यसअघि यातायात व्यवसायीहरुले ८ सय रुपैयाँ लिने गरेका थिए । बेनी–जोमसोम सडकखण्डमा बाढि र पहिरोका कारण अहिले दुई ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने वाध्यता यात्रुहरुलाई रहेको छ।