प्रधानमन्त्री नभए पनि सहमति हुन्छः भटराई

असोज ५,काठमाडौं-संवैधानिक राजनीतिक संवाद तथासहमति समितिका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला देश बाहिर भए पनि विवादित विषयमा सहमति हुन सक्ने बताएका छन् । न्युयोर्क जानु अघि आफूसँग भएको कुराकानीमा प्रधानमन्त्रीले आफू अमेरिका भए पनि सहमति गर्न आग्रह गरेको भट्टराईले जानकारी दिए। आजको कान्तिपुरमा खबर छ।
कोइरालाले सहमतिका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभाति रामचन्द्र पौडेललाई जिम्मा दिएका छन् । कोइरालाको पूर्व स्वीकृतिमा आइतबारदेखि तीन दलको बैठक नियमित बस्ने भएको छ। शनिबार संवाद समितिको संयोजनमा भएको तीन दलको बैठकमा दैनिक बैठक गरी संविधानमा नमिलेका विषयमा सहमति खोज्ने कुरा भएको छ।
भट्टराईले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शिर्ष नेताहरुको बैठक आइतबार बस्ने जानकारी दिए । ‘प्रधानमन्त्रीले मसंगको कुराकानीमा आफू अमेरिका भए पनि प्रमुख तीन दल बसेर सहमति खोज्न कुनै बाधा नहुने बताउनु भएको छ’ भट्टराईले भने, ‘त्यसकारण प्रधानमन्त्रीको अनुपस्थितिमा सहमति हन सक्छ । नेताहरुमा इच्छा शक्ति हुनुपर्‍यो ।’
उनले असोज १४ भित्र सहमति गर्न संवाद समितिका साथै राजनीतिक दलहरुबीच नियमित बैठक हुने बताए । ‘१० दिनमा हामी सहमतिका लागि अहोरात्र खट्नुपर्छ’ उनले भने, ‘संवाद समितिको उपसमितिले पनि आफ्नो काम नियमित गर्छ र राजनीतिक दलहरुबीच पनि दैनिक बैठक बस्ने नेताहरुबीच कुराकानी भएको छ ।’