आँखा पाक्ने समस्याले ग्रसित विराटनगर

असोज ४, विराटनगर-विराटनगर उपमहानगरपालिकामा आँखा पाक्ने रोग क्रमिक रूपमा बढ्न थालेको छ । विगत दुई सातादेखि सामान्य अवस्था रहेको आँखा पाक्ने समस्या नियन्त्रणमा आउन नसक्दा यतिखेर विकराल रूपलिन सक्ने सम्भावना देखिन थालेको छ ।  दूषित वातावरणका साथै आँखामा धूलो पर्ने कारण यो रोग लाग्ने सम्भावना रहन्छ । आँखा पाक्ने रोग लागेमा खासगरी आँखा चिलाउने, रातो हुनेलगायतका समस्या देखा पर्दछन् । यो रोगको सङ्कमण तीव्रगतिले फैलिने गरेकाले यात्रुबाहक बसका यात्रु, सार्वजनिक स्थलमा उपस्थित जनसमूहका साथै विद्यालय क्षेत्रमा यसको प्रभाव व्यापक रूपमा बढ्न थालेको छ । अरनिको उच्च मावि विराटनगरमा अध्ययनरत प्रिती झाले विद्यालयका दर्जनौँ विद्यार्थी यतिखेर आँखा पाक्ने रोगबाट ग्रसित रहेको बताउनु भयो । आँखा पाकेका व्यक्तिको आँखामा हेर्दा, नजिक बस्दा पनि यसको भाइरसले असर गर्ने गरेकाले खासगरी विद्यार्थी बढी प्रभावित भइरहेका छन् । विराटनगरस्थित आँखा अस्पतालमा यतिखेर आँखा पाक्ने समस्याबाट ग्रसित बिरामी आउनेक्रम तीव्र भएको अस्पताल सूत्रले जनाएको छ । आँखा पाक्ने रोगबाट ग्रसित व्यक्तिले आँखा चिसो पानीले धुने, सफा रुमालले पुछ्ने, कालो चस्मा लगाउने र आवश्यक परेको खण्डमा आँखा जचाएरमात्र औषधि लिने चिकित्सकहरूले सल्लाह दिएका छन् । रासस