निजी शैक्षिक संस्थाको पठनपाठन ठप्प

असोज ३,काठमाडौँ-नेकपा–माओवादी निकट भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले शुल्क समायोजनबारे पटकपटक गरिएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै गरेको बन्दका कारण आज निजी विद्यालय, त्रिविअन्तर्गतका निजी इन्जिनियरिङ कलेज तथा सिटिइभिटीको पठनपाठन ठप्प भएको छ । पछिल्लोपटक गत जेठ ७ गते चालु शैक्षिकसत्रमा संस्थागत विद्यालयको शुल्क वृद्धि सम्बन्धमा क्रान्तिकारीको माग र सर्वोच्च अदालतको आदेशसमेतको सम्मान गर्दै तत्काल नियम विपरीत बढाइएको शुल्क आगामी महिनाको शुल्कमा समायोजन गर्ने भनी सहमति भए पनि त्यसको कार्यान्वयन नभएका कारण बाध्य भएर शिक्षण संस्थाहरू बन्द गरिएको सङ्गठनका महासचिव रत्न ढकालले बताए ।

सर्वोच्च अदालतले २०६९ साल जेठ १० गते र दोस्रोपटक २०७० चैत ५ गते शुल्क वृद्धिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । विगतमा गरिएका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्दै यही भदौ १८ गतेदेखि धर्ना, अन्तक्र्रिया, ज्ञापनपत्र बुझाउनेलगायत विभिन्न चरणबद्ध सङ्घर्षका कार्यक्रम गर्दै आएको सङ्गठनले काठमाडौँ उपत्यकाका करिब २०० र देशभरिबाट करिब ३०० विद्यालय र विभिन्न क्याम्पसलगायत शैक्षिक संस्थाको लेखा शाखामा गत भदौ ३१ गते तालाबन्दी गरिसकेको छ ।

शैक्षिक संस्था बन्दका कारण विभिन्न विद्यालयमा दसैँ अगाडि लिन लागिएको प्रथम त्रैमासिक परीक्षाअन्तर्गतको आजको परीक्षा हुन सकेन । शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयहरू, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) लगायतका सङ्घसंस्थाले शैक्षिक संस्थामा तालाबन्दीभन्दा पनि सहमतिबाट अगाडि बढ्न आग्रह गर्दै आएका छन् ।