६९ औँ महासभामा भाग लिन प्रम कोइराला न्यूयोर्क जाँदै

असोज ३, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न न्युयोर्कतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्सको अबधाबीमा रहँदा असोज ४ गते मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिई विशेष निर्देशनसमेत दिनेछन् ।

प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहँदा केही उच्चस्तरीय राजनीतिक भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुने छ । सो अवसरमा उहाँले छिमेकी मित्र राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग आपसी हित र चासोका विषयका कुराकानी गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाले  राष्ट्र सङ्घका महासचिव वान कि– मुनसँग असोज ११ गते विशेष भेटवार्ता गर्नुहुने छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी  राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनेछन् ।

न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र  अमेरिकी राष्ट्रपति बाराक ओवामाले  आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनुहुनेछ । प्रधानमन्त्री  असोज ११ गते न्युयोर्कमा नेपाली समुदायले आयोजना गरेको अन्तक्र्रियामा सहभागी हुने समेत कार्यक्रम  छ ।