विराटनगर गुरुकुलमा नाटक महोत्सव

असोज २, विराटनगर-विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलले दसैँको अवसरमा पूर्वाञ्चलस्तरीय नाटक महोत्सव आयोजना हुँदैछ । गुरुकुलको आफ्नै आधुनिक सुशीला कोइराला नाटक घरमा यही असोज ४ गतेदेखि ११ गतेसम्म पूर्वाञ्चलस्तरीय नाटक आयोजना गर्न लागिएको हो । विराटनगर सतवार्षिकी आरोहण नाटक महोत्सव नाम रहेको उक्त महोत्सवमा मोरङ, झापा, इलाम, पाँचथर र मकवानपुरका नाट्य संस्थाहरूले जनचेतनामूलकस्तरीय नाटक प्रस्तुत गर्ने गुरुकुलका नाट्य संयोजक मिलन नेपालीले जानकारी गराउनुभयो ।  महोत्सव अवधिभर असोज ४ गतेदेखि हरेक दिन दिउँसो १ः३० बजे र साँझ ५ः३० बजे गरी दुई शो फरकफरक नाटकहरू मञ्चन गरिनेछन् ।

महोत्सवमा असोज ४ र ५ गते महादेवको बाजी शीर्षकको नाटक मञ्चन गरिनेछ । त्यसपछि क्रमशः पाँचथर, झापा, इलाम, हेटौँडा जिल्लाबाट आएका नाट्य संस्थाहरूले आफ्नो नाटक प्रदर्शन गर्ने संयोजक नेपालीले बताउनुभयो ।  नाटक महोत्सवले दसैँमा सांस्कृतिक जागरण ल्याउन र घर आएकाहरूलाई चेतनामूलक मनोरञ्जन दिलाउन सफल हुने विश्वास आफूहरूको रहेको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।  यहाँस्थित नाट्य संस्था आरोहण गुरुकुलले आफ्नो सुविधासम्पन्न नाटक घरमा हरेक वर्ष नाट्य महोत्सव गर्दै आएको छ ।