संवाद समितिको १२ दिन म्याद थप

असोज २, काठमाडौँ-संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद यही असोज १४ गतेसम्मलाई थप गरिएको छ ।  आज बसेको संविधानसभा बैठकमा नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संवाद समितिलाई असोज १४ सम्म समय दिने प्रस्ताव बहुमतले पारित गरेको हो । बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले आगामी १४ गतेसम्ममा सकेसम्म सहमति गरेर ल्याउन र सहमति हुनै नसके २१ गतेसम्म विवादित विषयको प्रश्नावली बनाएर ल्याउन समितिलाई निर्देशन दिएका छन् । उनले २१ असोजपछि प्रक्रियामा लैजाने बताए । समितिको म्याद थपको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने विरोध जनाएको छ । राप्रपाले सहमतिको नाममा समय गुज्रिने भन्दै माघ ८ गतेको संविधान जारी गर्न कार्यतालिका प्रभावित हुने आशंका गरेको छ ।