तरकारी मूल्य दोब्बर

आश्विन २,काठमाडौ-भदौ २८ मा प्रतिकिलो ४० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य ७० पुगेको छ। ४५ को काउलीलाई अहिले ९० रुपैयाँ तिर्नुपर्छ। लौकाको ३० रुपैयाँ प्रतिकिलोबाट बढेर ५५ पुगेको छ ।

किसान र उपभोक्ता अधिकारकर्मी बिचौलिया र कालीमाटी फलफूल तथा तरकारी बजारका कर्मचारीको मिलेमतोमा मूल्य बढाइएको आरोप लगाउँछन्। किसानका अनुसार यतिबेला तरकारी आपूर्ति घटेको छैन। पर्याप्त मात्रामा उत्पादन भइरहे पनि तरकारीमा बिचौलियाले एकाधिकार जमाइसकेकाले मूल्य बढाएका हुन्।
‘हामीले गोलभेंडा प्रतिकेजी ३० रुपैयाँमा बेचिरहेका छौं,’ काठमाडौंमा टनेल प्रविधिबाट खेती गरिरहेका रणबहादुर तामाङले भने। उनका अनुसार बिचौलियाले बारीमै पुगेर मूल्य तोक्छन्।उपभोक्ता अधिकारीकर्मी भने बजार अनुगमनमा जाँदा पनि तरकारीको चर्को मूल्यवृद्धिलाई कसैले वास्ता नगरेको आरोप लगाउँछन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँ भन्छन्, ‘अनुगमनमा जानेसँग कालिमाटीका कर्मचारीले सेटिङ मिलाउँछन्।’
बिचौलियाले तरकारी ल्याएर चल्तीको मूल्यभन्दा दोब्बरमा बेचेको थाहा पाउँदा पनि नियामक निकाय मूकदर्शक बनेको उनको आरोप छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ भने आपूर्ति घटेकाले मूल्य बढेको बताउँछन्। ‘हामीले कमिसन खाएर मूल्य बढाएको छैन,’ उनले भने, ‘तरकारी अभाव भएपछि बढेको हो।’ अहिले बर्खे सिजनमा हुने तरकारी सकिएको र हिउँदे सिजनको नआएकाले मूल्य केही बढेको उनको भनाइ छ। निर्देशक श्रेष्ठका अनुसार काउली, गोलभेंडा, लौका, कागतीलगायतको मूल्य बढेको छ।
कृषि विकास मन्त्रालयका सहसचिव मोहन चापागाईं पनि तरकारी आपूर्ति घटेकाले मूल्य बढेको बताउँछन्। ‘कालीमाटीमा दैनिक ६ सय टन माग छ, आपूर्ति चार सय ५० टनमात्रै,’ उनले भने, ‘मागअनुसार नआएपछि मूल्य स्वाभाविक रुपमा बढ्छ।’कालिमाटी फलफूल तथा बजार विकास समितिमार्फत कृषि विकास मन्त्रालयमा समेत कमिसन आउने गरेकाले बिचौलियाको रजाइँ चल्ने बानियाँ दाबी गर्छन्। काठमाडौंमा पर्याप्त मात्रामा तरकारी नभित्रिएको बहाना पार्दै बिचौलिया र बजारका कर्मचारीले दुई दिनमै अधिकांश तरकारीको मूल्य दोब्बर बनाएको उनले दाबी गरे।