स्कटल्यान्ड बेलायतको अधीनमा रहला ?

असोज२,काठमाडौं–कुनै बेला विश्वको आधाभन्दा बढी भुभागमा आफ्नो उपस्थिती जनाएको संयुक्त अधिराज्य (युके) फेरि भुभागकै विषयले चर्चामा आएको छ । युके अझै खुम्चिने वा यसको चारमध्ये एक मुख्य अंग स्कटल्यान्डलाई अझ अधिकारसम्पन्न बनाउने भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ । यसबारे बिहिबार जनमतसंग्रह हुँदैछ । ‘यस भोट’ वा ‘नो भोट’ मा करिब ४२ लाख स्कटल्यान्डबासीले मतदान गर्नेछन् । बेलायतसँग छुट्टिने मतका लागि ‘यस भोट’ र बेलायतकै अधीनमा रहनेमा ‘नो भोट’ । यसका लागि दुबैतर्फबाट प्रचारप्रसार भइरहेका छन् ।

रोचक पक्ष के छ भने स्कटल्यान्डबाट यसअघि बेलायतका प्रधानमन्त्री बनेका गोर्डन ब्राउन भने नो भोट का पक्षमा खुलेर लागेका छन्,जसले स्कटल्यान्बासीहरुको मतमा उनको प्रभाव पर्ने विश्लेषण बाहिर आएको छ ।तीन सय सात वर्ष सँगै रहेको स्कटल्यान्ड संयुक्त अधिराज्यमा रहन नचाहेको प्रसंग पटकपटक उठेपछि गत वर्षै यो जनमत संग्रहको टुंगो लागेको हो । स्वतन्त्र देशका पक्षधर एलेक्स सालमोन्डको स्कटिस नेसनल पार्टीले सन् २०११ को निर्वाचनमा ऐतिहासिक सफलता हात पारेपछि एकीकृत देशमा रहने वा स्वतन्त्र हुने भन्ने मुद्दा अघि बढ्दै मतदान हुने अबस्थामा पुगेको हो ,आजको कान्तिपुर दैनिकमा चन्द्रशेखर अधिकारीको एक सामग्री प्रकाशित छ ।