सार्कको गृहमन्त्री स्तरीय छैटौं बैठक आज देखि सुरु

असोज १, काठमाडौँ-दक्षिण एसियाली क्षेत्र्रीय सहयोग संगठन सार्कको गृह मन्त्री स्तरीय छैटौं बैठक आज देखि सुरु हुँदै छ । सार्क राष्ट्रका गृहमन्त्री, गृहसचिव र अध्यागमन अधिकारीहरूको छैठाँै बैठक आज देखि राजधानिमा हुन लागेको हो । सार्क अध्यागमन अधिकारीको बैठक आज, भोलीे सार्क गृह सचिवस्तरीय बैठक र पर्सी ३ गते सार्क गृहमन्त्रीस्तरीय बैठक हुने गृह मन्त्रालयले जनाएको छ ।

सार्क गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले असोज ३ गते गर्ने कार्यक्रम रहेको छ । बैठकमा  सहभागी हुन सार्क राष्ट्रका गृहमन्त्री तथा सम्बन्धित पदाधिकारी नेपाल आउने क्रम जारी रहेको समेत मन्त्रालयले जनाएको छ । सार्कका गृहमन्त्रीहरू, गृहसचिव र अध्यागमन अधिकारी सहभागी हुने उक्त बैठक सन् २००६ देखि नियमितरुपमा आयोजना हुँदै आएको छ ।

बैठकले यसअघिका सार्क शिखर सम्मेलनमा व्यक्त प्रतिबद्धताका विषयलाई प्राथमिकतामा राख्दै दक्षिण एसियामा आतङ्कवाद, लागुऔषध कारोबार, मानव बेचविखन तथा ओसारपसार, भ्रष्टाचार र विद्युतीय अपराध नियन्त्रणलगायत विषयमा छलफल गरी साझा प्रतिबद्धता व्यक्त गर्नेछ । यसैविच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सार्क शिखर सम्मेलनमा माल्दिभ्स र श्रीलङ्कालाई निमन्त्रणा गर्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

पाण्डेले आज माल्दीम्सका राष्ट्रिपति अब्दुल्ला यामीनलाई भेटि पत्र हस्तान्तरण गर्नु हुने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री सुशील कोइरालाले सार्कका वर्तमान अध्यक्ष राष्ट्र माल्दिभ्स सहित सदस्य राष्ट्रहरु श्रीलङ्का, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानका सरकार तथा राष्ट्र प्रमुखलाई सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पत्र लेख्नुभएको हो ।