संविधानका खातिर युवा सङ्घले दबाबमूलक कार्यक्रम गर्ने

भदौ ३१, काठमाडौँ-नेकपा एमालको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले समयसीमाभित्रै संविधान निर्माण गर्न लगाउन दबाबमूलक र रचनात्मक अभियान सञ्चालन गर्ने भएको छ । सङ्घको सङ्घका कार्यबाहक अध्यक्ष निरुदेवी पालले दलहरूले जनतासामु व्यक्त गरेको प्रतिबद्धताअनुसार आगामी आघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने भन्दै त्यसका लागि देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।  सङ्घले सो अभियान सञ्चालनका लागि उपाध्यक्ष झपट रावलको संयोजकत्वमा समिति गठन गरेको छ । सङ्घले समयमा संविधान बन्नुपर्ने र संविधानमा युवामैत्री प्रावधान हुनुपर्ने माग गरेको छ ।  सङ्घले सङ्गठन निर्माण र शुद्धीकरण अभियान पनि सञ्चालन गर्ने भएको महासचिव राजीव पहारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले ‘जहाँ युवा, त्यहाँ युवा सङ्घ, जहाँ युवा सङ्घ त्यहाँ उत्पादन’को नारालाई पनि सफल बनाउन विविध कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । सङ्घले सात जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।