डुंगा पल्टिँदा ५०० जनाको मृत्यु

भदौ ३१,एजेन्सी-अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले गत साता भूमध्य सागरमा भएको डुंगा दुर्घटनामा ५०० आप्रबासीको निधन भएको हुन सक्ने बताएको छ । २ प्यालेस्टाइनी आप्रबासी शरणार्थीहरुको उद्दार गरिएपछि उनीहरुले डुबेको डुंगामा ५०० जति यात्रु सवार रहेको जानकारी दिएपछि यस्तो आशंका गरिएको हो ।
सिसिली पुर्‍याइएका ती दुई आप्रबासी शरणार्थीले आफूहरुसँग ५०० जति यात्रु सवार रहेको र डुंगा डुवेको बताएका छन् । उनीहरुको भनाइ अनुसार डुंगमा सवार सबै आप्रबासी समुद्रमा डुवेर मरेको आशंका आइओएमले गरेको हो ।

यद्यपी यो दुर्घटनाबारे आधिकारिक पुष्टी हुन सकेको छैन । उक्त डुंगामा सिरिया, प्यालेस्टाइन, इजिप्ट र सुडानका आप्रबासी रहेको बताइएको छ । उनीहरु इजिप्टबाट युरोप तिर जाने प्रयासमा थिए । तर आप्रबासीहरुलाई युरोप लैजाने दलालहरुले बिच समुद्रमा उक्त डुंगामाथि आक्रमण गरेको बताइएको छ ।

गत साता मात्र करिव २३०० जना आप्रबासी शरणार्थीहरुलाई समुद्रबाट उद्दार गरिएको थियो । गत अक्टोबरमा यस्तै डुंगा डुब्दा ४०० आप्रबासी शरणार्थीको निधन भएको थियो ।