दक्षिण कोरियाको क्रिकेट प्रशिक्षक नेपाली

भदौ ३१, काठमाडौ -दक्षिण कोरियामा शनिवारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराँते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन् । विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटवल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ ।

दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ । उनी नेपाली क्रिकेट प्रशिक्षक हुन् । एसियाली खेलकुदमा उनकै प्रशिक्षणमा महिला टोली मैदानमा ओर्लदैछ तर नेपालको होइन, दक्षिण कोरियाको ।

उनलाई प्रशिक्षणमा सहयोग गरिरहेकी नीरा राजोपाध्याय नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान हुन् । यी दुवै जना दुई महिनादेखि दक्षिण कोरियामा महिला क्रिकेट प्रशिक्षकका रुपमा कार्यरत छन् । उनीहरुकै प्रशिक्षणमा दक्षिण कोरिया पहिलोचोटि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओर्लन लागेको नागरिक दैनिकमा खबर छ ।

कोरियाको पुरुष र महिला दुवै टोलीले इन्चोनमा प्रतिष्पर्धा गर्नेछन् । दक्षिण कोरियाको इन्चोनमा एसियाली खेलकुद आयोजना गर्न पाएसँगै क्रिकेट टोली बनाउन बाध्य भएको हो । नेपाली क्रिकेटमा खासै भूमिका नपाएका चौधरी र राजोपाध्यायले दक्षिण कोरियासम्मको यात्रा कसरी तय गरे ? कोरियाको महिला टोली आधारभूत प्रशिक्षण लिन गत मंसिरमा नेपाल आएको थियो । त्यो एसियाली खेलकुदकै लागि लक्षित टोली थियो ।