राधालाई मदन, शिवलाई जगदम्बाश्री पुरस्कार

भदौ २९, काठमाडौँ-वर्ष २०७० को मदन पुरस्कार राधा पौडेलले पाउने भएकी छिन् भने जगदम्बा–श्री पुरस्कार शिव रेग्मीले पाउने भएका छन् । पौडेलको संस्मरणात्मक कृति ‘खलंगामा हमला’लाई मदन पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । त्यस्तै गुठीले जगदम्बा–श्री पुरस्कार बापतको रकम दुई लाख रुपियाँ राशिको उक्त साहित्यिक पुरस्कार पत्रकारिताको खोजी–अन्वेषण गरेको भन्दै रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीको आज बसेको साधारणसभाले दुई लाख रुपियाँ राशिको मदन पुरस्कार पौडेलको कृति ‘खलंगामा हमला’लाई दिने निर्णय गरेको हो । चितवनको भरतपुर नगरपालिका–७, गौरीगन्ज पौडेलको स्थायी घर हो । उनले जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा कार्यरत छँदा माओवादीले गरेको आक्रमणको संस्मरण उक्त पुस्तकमा गरेकी छन् ।