समयमानै संविधान जारी गर्न सभासदको जोड

भदौ २९, काठमाडौँ-बिजेनेश नपाएर दुई महिना पछि दोश्रो पटक बसेको संविधानसभाको आजको बैठकमा धारणा राख्ने अधिकांश सभासद्हरुले कार्यतालिका भित्रै संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफलमा भाग लिँदै सभासदले अघिल्लो संविधानसभाले संविधान जारी गर्न नसकी विघटन भएको तीतो यथार्थलाई आत्मसात् गर्दै आगामी माघ ८ गतेभित्र जुनसुकै हालतमा पनि संविधान जारी गर्नुपर्ने उनीहरुको तर्क छ ।

सकेसम्म सहमतिका आधारमा नै संविधान जारी गर्नुपर्ने तर्क गर्दै उहाँहरुले त्यसो हुन नसकेमा मात्रै प्रक्रियामा जानुपर्ने र सबै वर्ग तथा क्षेत्रलाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्नुपर्ने बताएका छन् । संविधानसभाबाटै संविधान जारी गर्नुपर्नेमा विशेष जोड दिँदै सभासद्हरुले सहमतिका नाममा संविधानसभा बाहिर जान हुँदैन भन्नुभयो । यस्तै केही सभासद्हरुले भने समितिका सभापति डा. बाबुराम भट्टराईलाई कस्तो र कुन निकायबाट संविधान नबनाउन दबाब आएको हो, त्यो विषयलाई सभासमक्ष पेस गर्न आग्रह गर्नुभएको थियो ।

संविधानसभाबाट संविधान बन्छ भनेर अघिल्लो संविधानसभाले गरेको काम कारबाहीको स्वामित्व ग्रहण गरेकाले ती विषय संविधानसभाभन्दा बाहिर जान नहुने उनीहरुको धारणा छ । अझै पनि संवाद तथा सहमति समितिले घनीभूत छलफल गरी सुझाव लिन सक्ने धारणा राख्दै संविधानसभालाई ‘बाइपास’ गर्न केही गतिविधि सुरु भएकामा आपत्ति प्रकट गरेका छन् ।