सहरमा हल्ला छैन (कविता)

हरिहर तिमिल्सिना

आज सहर शान्त छ
के तपाईलाई थाहा छ
सहरमा हल्ला नहुनु
खतराको सूचक हो ?

मानिसहरू चुपचाप बोलिरहेका छन्
बालकहरू सुनसान हाँसिरहेका छन्
क्रिया छ प्रतिक्रिया छैन
ध्वनि छ आवाज छैन
सन्नाटा छ एकदम सन्नाटा
सङ्केतको भरमा कसरी चलिरहेको छ यो सहर ?

पत्ता लगाउनु छ मलाई
म्युट बटम थिचेर
कसले आवाजविहीन पारिरहेको छ यो सहरलाई रु
ठेलागाडामा देश लादेर
घँचेटिरहेको छ ठेलावाला
सडकको एउटा कुनामा
झन्डा बालेर मासु पोलिरहेकी छे एउटी अधबैँसे
सडकको गलबन्दी भिरेर घाँटीमा
कुदिरहेका छन् युवाहरु ।

मन्दिरको चारैतिरको परिक्रमापछि
ढोकै अगाडि उभिएर मूर्तिलाई ताक्दै
मूत्रविसर्जन गरिरहेको छ एउटा भक्त

पटक्कै नबुझिने, फिटिक्कै नसुनिने
नाराहरूको घोडा चढेर
भर्खरै सिँहदरवार प्रवेश गरिरहेको छ  सलहको एउटा जुलुस

टिनको छानोमाथि परेड खेलिरहेको छ
अहिलेसम्मकै निर्मम आँधी
शताब्दी पुरानो ताजा खबरको रटान लगाउँदै
चिच्याएको मुद्रामा कुदिरहेछन् हकरहरू
एम्बुलेन्सको साइरनले के बोलिरहेको छ
खतराको सूचना,रोमान्टिक गीत या मङ्गल धुन ?
चुपचाप चुपचाप भइरहेछन् यी घटना उपघटनाहरू

सदाझैँ यस ऋतुमा पनि
सूर्य पश्चिमबाटै उदाएपछि
अब के हुने हो भन्दै मौनता साँधिरहेको छ सहर
के तपाईलाई थाहा छ ?
सहरमा हल्ला नहुनु भनेको खतराको सूचक हो ।