अरनिको राजमार्ग पुनः अवरुद्ध

भदौ २८, सिन्धुपाल्चोक-अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको फुल्पिङडाँडा गाविसस्थित कोठेमा अविरल वर्षाले पहिरो गएपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । नजिकै रहेको सुनकोसी नदीले तलबाट तानेको र गएराति माथिबाट पनि पहिरो झरेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो ।     रातिदेखि नै लगातार परेको पानी आज अपराह्नसम्म नरोकिएकाले तत्काल खुलाउन पुनः पहिरो झर्ने सम्भावना भएकाले घाम लागेपछि सडक खोलिने स्थानीय प्रशासनले जनाएको छ ।     राम्चे–५ जुरेमा साउन १७ गते गएको पहिरो सुनकोसी नदी थुनिएर बनेको कृत्रिम ताल भदौ २१ गते ३७ दिनपछि खुलेपछि नदीको धारले तलबाट तानेपछि सो ठाउँमा बिहीबार दिनभरि सडक अवरुद्ध भएको थियो । स्थानीय प्रशासन, प्रहरी तथा सडक डिभिजन कार्यालयको प्रयासमा शुक्रबार अपराह्नदेखि खुलेको उक्त सडक पहिरोले पुनः अवरुद्ध भएको हो । दसैँ नजिकिँदै गर्दा सडक अवरोध भएपछि काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछाप हिँडेका यात्रुबस र उताबाट काठमाडौँ जान लागेका यात्रुबस बाटोमै अलपत्र परेका छन् ।  विसं २०४४ को बाढी पहिरोले गर्दा सो सडकखण्डको करिब १०० मिटर भागमा एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको छ ।