केरलामा मदिरामाथिको प्रतिबन्ध फुकुवा

भदौ २८,काठमाडौँ–दक्षिण भारतको पर्यटकीय राज्य केरलाले मदिरामाथि लगाएको प्रतिबन्धलाई सर्वोच्च अदालतले बिहीबार अस्थायी रूपमा हटाएको छ । यसले त्यहाँका होटल तथा बारलाई यस विवादास्पद प्रतिबन्धको विरोधमा अन्तिम समयमा केही राहत महसुस गराएको छ । केरला सरकारले शुक्रबारदेखि लागू हुने गरी मदिरामाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने योजना अगाडि बढाएको थियो । यस्तो सुन्दर मानवीय हितको कदमलाई सर्वोच्च अदालतले रोकेको छ ।

होटल सञ्चालकहरूले छुट्टीको बेला समुद्र किनारामा मदिरा सेवन गरी आनन्द मनाउन चाहने पयर्टक यस प्रतिबन्धका कारण यस क्षेत्रमा नआउने शंका गरेका थिए । केरलाका बार सञ्चालकहरूले यो प्रतिबन्ध भेदभावपूर्ण भएको र यसले उनीहरूको व्यापारमा चुनौती थपेको बताउँदै केरलाको उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले उच्च अदालतलाई यस विषयमा निर्णय गर्न यस महिनाको अन्त्यसम्म समय दिएको छ । न्यायाधीश अनिल आर दवेले ३० सेप्टेम्बरसम्म कसैमाथि पनि अनुचित दबाब नहुने बताए । न्यायाधीशले करिब ७ सय बार बन्द हुने गरी भएको यस नीतिप्रति प्रश्न गरेका थिए । केरलाले १० वर्षमा मदिरा बिक्रीमा प्रतिबन्ध लगाउने काम पूर्ण रूपमा लागू गर्ने चरण बनाएको छ । त्यहाँको पाँचतारे होटललाई आइतबारको दिनबाहेक मदिरा बेच्न अनुमति दिइनेछ । उनले केरलाले मदिरामा प्रतिबन्ध लगाउने भए गुजरातमा जस्तो एकैपटक प्रतिबन्ध लगाउन आग्रह गरे । उनले गुजरात यस विषयमा सुरक्षित भएको बताए ।

गुजरातमा मदिरामाथि प्रतिबन्ध लगाइएको धेरै भइसकेको छ । लामो तटरेखा, डुंगा तथा चियाबारीका कारण केरला पर्यटकको आकर्षण बनेको छ । यसले आफूलाई देवभूमिको रूपमा उल्लेख गर्ने गरेको छ । त्यहाँको जनसंख्या ३ करोड ४० लाख छ । मदिरा सेवन ठूलो समस्या बनेको छ यसैले त्यहाँको सरकारले एकैपटक मदिरामा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यस निर्णयले पर्यटन उद्योगलाई झस्काएको छ ।

केरलामा रम र ब्रान्डी मन पराउने जनताको संख्या बढी नै छ । जीवनस्तर तुलनात्मक रूपमा उच्च भएकाले मदिरा सेवनको स्तर पनि सबैभन्दा उच्च छ । परम्परागत रूपमा घरमा पनि मदिरा बनाइन्छ । सन् २०१२/१३ को आर्थिक वर्षमा केरलाले मदिरा बिक्रीमा एक अर्ब अमेरिकी डलर बराबर कर प्राप्त गरेको थियो । यस कदमले यस राज्यको राजस्वमा प्रभाव पार्ने अनुमान गरिएको छ ।