एलपी ग्यासमा तत्काल मूल्य समायोजन नहुने

भदौ २६, काठमाडौँ-ग्यास बिक्रेता महासङ्घ नेपालले दसैँ, तिहार र छठलगायतका महत्वपूर्ण पर्वको समयमा एलपी ग्यासमा तत्काल मूल्य समायोजन नगर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन मिडिया इन्टरनेसनले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा महासङ्घका अध्यक्ष किशोरकुमार केसीले ठूला चाडपर्वका बेला ग्यासको पर्याप्त आपूर्ति हुनपर्ने भएकाले सरकारले तत्काल मूल्य समायोजन गर्न नहुने बताएका हुन् ।  एलपी ग्यासका उपभोक्ताहरू बढ्दै गएकाले ग्यास आपूर्ति बढाउन सरकारसँग वार्ता गर्न जरुरी भइसकेको छ । महासङ्घको यही भदौ २१ र २२ गते दोस्रो राष्ट्रिय महाधिवेशनले किशोरकुमार केसीको अध्यक्षतामा ५९ सदस्यीय पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा ओमकार केसी, प्रथम उपाध्यक्ष नवराज गौतम र बालकृष्ण कोइराला, उपाध्यक्षहरूमा निर्मला श्रेष्ठ, अर्जुन देवकोटा, महेश्वरकुमार श्रेष्ठ, सहदेव श्रेष्ठ, सुवास प्रधान, गणेश झा, नारायणप्रसाद पौडेल, गणेश श्रेष्ठ, टेकबहादुर थापा, दिव्यदेव उप्रेती चयन भएका छन् । त्यसैगरी, महासचिवमा चन्द्रबहादुर राना, उपमहासचिवमा रामप्रसाद ज्ञवाली निर्वाचित हुनुभएको छ भने सचिवहरूमा कृष्ण गैरे, जीवनकुमार श्रेष्ठ, वसन्त गौचन, दिनेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा बलराम पोखरेल निर्वाचित  भएका छन् ।