घरेलुले थाल्यो बजार अनुगमन

भदौ २६,भद्रपुर-चाडपर्व नजिकिँदै जाँदा वाणिज्य कार्यालयको कामसमेत गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय झापाले बजार अनुगमन कार्यलाई तीव्र पारेको छ ।  अगुगमनको क्रममा भद्रपुर क्षेत्रमा २० वटा पसल र विर्तामोड स्थित छवटा पसलमा गई अनुगमन टोलीले पसलका सरसामानको मूल्य र खाद्यवस्तुको अनुगमन परीक्षण गरेको थियो । अनुगमनको क्रममा भद्रपुरस्थित लक्ष्मी स्टोर र विष्णु स्टोरका सञ्चालकले सामानको मूल्य हेरफेर गरेको पाइएकाले कारबाहीका लागि सिफारिस गरिएको छ ।     त्यस्तै, हिजो विर्तामोड क्षेत्रको बजार अनुगमन गर्ने क्रममा लक्ष्मी भण्डार, ओम भण्डार र रेडमगका सञ्चालकलाई नियमबमोजिम पसल सञ्चालन नगरेकामा कारबाहीका लागि सिफारिस भएको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोपीप्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्कर पौडेल र खाद्य गुण नियन्त्रण कार्यालय विराटनगरका भरतबहादुर पुरी सम्मिलित टोलीले बजार अनुगमन गरेको थियो ।