बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट

भदौ २६, कञ्चनपुर-बोक्सीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक गर्भवती महिलालाई छिमेकीले कुटपिट गरेका छन् । पुनर्वास नगरपालिका–१२ रामबस्तीकी हेमन्ती तामाङलाई गाउँकै सानु तामाङले घरमै आएर कुटपिट गरेकी हुन् । ३७ वर्षीया हेमन्तीलाई मङ्गलबार सानुले बोक्सी भन्दै गाउँले सामु  कुटपिट गरेका हेमन्तीले आरोप लगाएकी छिन् ।घटनापछि हेमन्ती आफ्ना श्रीमान्सँग न्यायिक उपचारका लागि सदरमुकाम महेन्द्रनगर पुगेकी छिन् । सानुका श्रीमान् जितबहादुर तामाङले प्रहरीमा उजुरी गरेको भन्दै धम्काउन थालेपछि गाउँमा बस्ने वातावरण नहुँदा न्यायका लागि यहाँ पुगेको हेमन्तीका श्रीमान् सोमबहादुर तामाङले बताउनुभयो ।  गैरसरकारी संस्था सेलर्डले उनीहरुलाई कानुनी परामर्श दिइरहेको महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत अनिता बुढाऐरले बताउनु भयो । हेमन्तीलाई सेवा केन्द्रको आश्रयगृहमा राखिएको छ ।