नेताको उपचारमा राष्ट्रको ढुकुटी रित्तिँदै

भदौ २६,काठमाडौं-गरिब बिरामीले उपचार नपाएर ज्यान गुमाउन बाध्य भइरहेका बेला राजनीतिक दलका हुनेखाने र पहुँचवाला नेताले भने उपचारका नाममा राज्य कोषबाट करोडौं रुपैयाँ खर्च गरेका छन्। राज्यले यस्ता हुनेखाने नेतालाई उपचारखर्च भन्दै दुई वर्षमा करिब तीन करोड रुपैयाँ उपलब्ध गराएको छ। दुर्गम गाउँमा सामान्य उपचार गर्दा पनि बाँच्न सक्ने सम्भावना भएका सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाउनुपरेका घटना सञ्‍चारमाध्यमबाट सार्वजनिक भइरहेका बेला हुनेखाने नेताले उपचारका नाममा गरेको यो खर्च असामान्य छ।

आजको अन्नपूर्ण पोष्टका अनुसार प्राप्त तथ्यांकअनुसार अधिकांश नेता आर्थिक रूपमा सम्पन्न भए पनि राजनीतिक दबाबमा उनीहरूको उपचारखर्च सरकारले बेहोरेको हो।
स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको उपचारका लागि अहिलेसम्म ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। गम्भीर अवस्थामा उपचार गराइरहेकी एमाले नेत्री साहना प्रधानको उपचार खर्चबारे भने पूरा विवरण आइसकेको छैन।
नियमअनुसार आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई मात्र सरकारले उपचारका लागि सहयोग गर्नुपर्ने हो। तर तत्कालीन स्वास्थ्यमन्त्री, सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकको दबाबका कारण उपचारखर्च आफैं बेहोर्न सक्ने नेताले पनि सरकारबाट रकम लिएका हुन्।दुई वर्षयता एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य उपचारका लागि सबैभन्दा बढी खर्च भएको छ। ओलीको उपचारका लागि सरकारले दुईपटक गरी एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको छ। पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीले उपचारका लागि भन्दै २७ लाख ८० हजार रुपैयाँ लिएका छन्।
दुर्गम गाउँमा सामान्‍य उपचार पनि नपाएर सर्वसाधारणले ज्‍यान गुमाउनुपरेका घटना सार्वजनिक भइरहेका बेला हुनेखाने नेताले उपचारका नाममा राज्‍यकोषबाट गरेको यो खर्च असामान्‍य छ। यस्तै माओवादी नेता घनश्याम शर्मा पौडेलले पाँच लाख ११ हजार दुई सय २९ रुपैयाँ लिएका छन् भने कांग्रेसका चेतराज बजाल, पूर्वमन्त्री सिद्धराज ओझा, योगेन्द्र महत, सदरुल मियाँ हक, मालेका नेता जगतबहादुर बोगटी, एमालेका शेरधन राई, कांग्रेसका तप्‍तबहादुर बिष्ट र सुरेन्द्र हमालले पाँचपाँच लाख रुपैयाँ लिएका छन्। अर्का नेता राधेश्याम पासवान र सद्‌भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले चारचार लाख रुपैयाँ लिएका छन्।