विवादका कारण २ सय वर्ष पुरानो नाच रोकियो

भदौ २६,काठमाडौं-पशुपति क्षेत्र विकास कोष र स्थानीयहरु बीच कुरा नमिलेपछि पशुपति क्षेत्रमा सञ्चालन हुने महादेव र पार्वतीको दुई सय वर्ष पुरानो नाच यस वर्ष रोकिएको छ । विकास कोषसँग स्थानीयबासीहरुले माग गरे अनुसार रकम नपाएपछि नाच रोकिएको हो ।  चरिमति बिहार गुठीका सदस्य एंव कोषका पूर्व सदस्य सचिव परमानन्द शाक्यले तीन महिना अगाडीदेखि नाचको लागि नटर्क र बाध्यबाजक तयार गर्न आवश्यक बजेट छुट्याउन कोषलाई पत्र पठाए पनि प्रयाप्त रकम नआएको गुनासो गरे । ‘गुठीले कोषसँग ५ लाख रुपैया माग गरेको थियो’, उनले भने,’थोरै बजेटले नाचका लागि आवश्यक जनशक्ति जुटाउनु सकिन्न ।’

कोषका सदस्य सचिव डा.गोविन्द टण्डनले गुठीबाट आवश्यकभन्दा बढि माग भएको बताए । ‘नटर्क बालकलाई छात्रवृति लगायत अरु विभिन्न माग आएका थिए,’ उनले भने,’गुठीले सञ्चालन गर्ने कार्यक्रम बनाई योजना ल्याएमा आवश्यक बजेट छुट्याउन तयार छु ।’  यो नाच औपचारिक रूपमा इन्द्रजात्राको दिन मंगलबार सुचारू भएको थियो । मंगलबारै गौशालास्थित जयवायश्वरीस्थित पशुपति अमालकोट कचरी -कार्यालय) ले परम्परा अनुसार भेडाको बलि दिई नाथेश्वर पुजागरी चारमति विहारका गुठीयारहरुलाई प्रसाद र टिका दिएका थिए । तर दुई संस्था बीच बजेटमा कुरा नमिल्दा इतिहास बोकेको नाच बुधबारबाट बन्द भएको हो ।

 चार दिन सम्म चल्ने नाच बेलुका पशुपति क्षेत्रका विभिन्न महत्वपुर्ण चोकहरुमा नचाउने चलन थियो । जयवायश्वरी मन्दिरस्थित नासल चोकबाट सुरु भई पशुपति बासुकि पट्ट चोक, पशुपति मन्दिर प्राङगन, भुवनेश्वरी मन्दिर प्राङगन, पशुपति अमालकोट कचारी चोक, जयवायश्वरी मन्दिर प्राङ्गनमा नचाई पुन वैद्य चोकमा पुगि सम्पन्न हुने गर्दछ । दास्रो दिन पशुपति मन्दिरका मुख्य चार पुजारीको निवासको प्राङ्गन, राम मन्दिर, गोरखनाथ, गुहेश्वरी र जयवायश्वरी, नवाली टोल र अन्तमा पुन चोकमा पुग्ने परम्परा थियो । तेस्रो दिन चावहेल वहाल, चावहेलस्थित गणेश मन्दिर प्राङ्गनमा नाच देखाउने गर्दथ्यो । नाच देखाउनेक्रममा पञ्चे, धा, खि, नायखि, पश्चिमा बाजाहरु बजाउने गर्दथ्यो ।

 पशुपति अमालकोट कचारी (कार्यालय)का द्धारे (मुख्य व्यक्ति) पुर्ण डंगोलले कोषले ऐतिहासिक नाच लोप हुन नदिन केहि कदर चाल्नु पर्ने बताए । ‘नाच रोकिएपनि सम्बन्धि निकायलाई मतलब छैन’,उनले भने । जयवायश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यले तान्त्रिक पुजा रोक्न नहुने बताए । ‘यसले सम्बन्धि निकायका व्यक्तिलाई केहि भएमा मन्दिर जिम्मेवारी छैन’,उनले भने ।  २०५७ सालसम्म पशुपति क्षेत्र अन्र्तगत सञ्चालन हुने सम्पुर्ण जात्रापर्वको लागि आवश्यक खर्च अमालकोट कचारीले व्यहोदै आएको थियो । २०५८ सालदेखि कचारी, पशुपति भण्डार तहबिल र जयवायश्वरी भण्डार तीनै कार्यालय कोषले लिएदेखिन जात्रापर्व सञ्चालनमा समस्या हुदै आएको स्थानीयहरु बताउछन् । उनीहरु भन्छन्,’नाचको लागि ४ जना नर्टक बालक, १०/१२ जना बाध्यबाजक र ५/६ जना गीत गाउनेहरु आवश्यक पर्छ ।’