दसैंका नयाँ नोट आइतबारदेखि पाउने, एक व्यक्तिले २२ हजारमात्र

भदौ २६,काठमाडौं-राष्ट्र बैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँबराबरका नयाँ नोट वितरण गर्ने भएको छ। दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले आइतबारदेखि नयाँ नोट वितरण गर्दैछ।
 राष्ट्र बैंकका काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ। वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले पनि नयाँ नोट बाँड्न पाउने कारोबारमा खबर छ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । १ व्यक्तिले ५, १० र २० का २-२ बन्डल र ५० र सयका १-१ बन्डल नयाँ नोट लिन सक्नेछन्।प्रतिव्यक्ति अधिकतम २२ हजार रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।
यसैगरी केन्द्रीय बैंकले दसैं र तिहारमा नयाँ नोटको अभाव हुन नदिन अन्य बैंक/वित्तीय संस्थालाई पनि वितरण जिम्मा दिने भएको छ। बैंकका अनुमानित सेवाग्राही संख्याका आधारमा नोट वितरणगर्ने तयारी रहेको श्रेष्ठले बताए। विगत वर्षमा बैंक/वित्तिय संस्थाले आवश्यकताभन्दा बढी होल्ड गर्ने भएकाले पनि नयाँ नोट अभाव हुने गरेको हो।