एमबिबिएसका ११५ सिट कटौती

भदौ २६,काठमाडौं-त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले सम्बन्धनप्राप्त मेडिकल कलेजलाई दिँदै आएको एमबिबिएसको सिट संख्या घटाएको छ।  आइओएमको मंगलबार बसेको फ्याकल्टी बोर्ड बैठकले गत वर्षको भन्दा एक सय १५ सिट घटाउने निर्णय गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

गतवर्ष सातवटा कलेजमा एमबिबिएसको सिट संख्या ८ सय ३० थियो। यसवर्ष त्यसलाई ७ सय १५ मा झारेको छ । आइओएमको निर्णयअनुसार चार कलेजको सिट संख्या कटौती गरिएको छ । दुई कलेजमा सिट थपिएको छ भने एक कलेजको यथावत् राखिएको छ।

कटौतीमा परेकामध्ये जानकी मेडिकल कलेजलाई एक सिट पनि दिइएको छैन। आइओएमका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंको सिट संख्या सयबाट बढाएर एक सय ५० र चितवन मेडिकल कलेजको सिट संख्या एक सय ४० बाट बढाएर एक सय ५० पुर्‍याइएको छ। यस्तै किष्ट मेडिकल कलेजको सिटसंख्या १ सय २५ बाट ८० मा झारिएको छ। १ सय ५० सिट रहेको युनभर्सल मेडिकल कलेज, भैरहवालाई १३५ मात्रै दिइएको छ।