अध्यक्ष शर्माद्धारा राजीनामा

 भदौ २५,काठमाडौँ एकीकृत नेकपा(माओवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा शर्माले आफ्नो निर्णयले पार्टीलाई सकारात्मक निर्णय लिन बल पुग्ने उल्लेख गरेका छन् । गत चैतमा सम्पन्न सङ्गठनको १९ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणमा देखिएको विविध अप्ठ्याराका कारण आफ्नो चाहना नरहँदा रहँदै पनि केन्द्रको आग्रहमा अध्यक्षको जिम्मेवारी सम्हाल्न बाध्य भएको उल्लेख गर्दै शर्माले त्यस यता तीन महिना बिते पनि विद्यार्थी नेतृत्वको विवाद समाधानका लागि प्रयत्न नभएको बताएका छन् । एमाओवादीको काठमाडौँ जिल्ला समितिको अध्यक्षसमेत रहेका शर्माले जिल्ला समितिको नेतृत्व लिएको हिसाबले विद्यार्थी सङ्गठनको कार्यकारी जिम्मेवारी लिनु जायज नभएको पनि राजीनामापत्रमा उल्लेख गरेका छन् ।