दसैंको आधा टिकट सकिए

भदौ २६,काठमाडौं-दसैंमा कैलाली जाने टिकट किन्न बिहान ४ बजे गोंगबु बसपार्क पुगेकी नमिता खत्रीले पाँच घन्टासम्म कुर्दा खोजेको दिनको टिकट पाइनन्। घटस्थापनाको दिन घर जान खोजेकी खत्रीले नपाएपछि असोज १३ को टिकट किन्नुपर्यो। ‘बुकिङ खुलेको दिन बिहानै गए खोजेको दिनको चाहेको सिट पाइन्छ भनेर आएको पाइएन,’ उनले भनिन्।

आजको नागरिक दैनिकमा शिक्षा रिसाल अगाडि लेख्छिन्- असोज १० गते रुकुम जाने तयारीमा रहेका रवि देबकोटा पनि पछि टिकट नपाइने पीरले बुकिङ खुलेकै दिन लाइन बस्न आएका थिए। उनले पनि १२ गते पछिको टिकट पाए। टिकट त पाइयो तर भनेको दिनको पाइएन’,उनले भने। दसैंको लागि घर जान कलेजसमेत छोडेर बिहान ३ बजेदेखि लाइन बस्न आएको उनले सुनाए।

दसैंका लागि टिकट बुकिङ खुला भएकै दिन बुधबार आधा टिकट सकिएको छ। गोंगबु,कलंकी, गौशाला, पुरानोबसपार्कका टिकट काउन्टरमा झिसमिसेदेखि नै हजारौंको भीड लागेको थियो । भनेको दिन र भनेको जस्तो सिट नपाइएला भन्ने चिन्ताले झिसमिसेमै लाइन बस्न आएको यात्रुले बताए।

उपत्यकामा काउन्टरबाट ५० प्रतिशत टिकट बिक्री भइसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। पहिलो दिनमै आधा टिकट सकिए पनि यात्रुलाई भने यसले असर नगर्ने सिटौलाको दाबी छ।’बसको टिकट नपाएर घर जान पाइएन भन्ने गुनासो कतैबाट सुनिने छैन,’ उनले भने।