खेलाडीबीच विवाद हुँदा गोली चल्यो,३ जना घाइते

भदौ २५,नवलपरासी-नवलपरासीको देउराली–३ गिरुबारीमा सञ्चालन भइरहेको ३०औँ युनाइटेड फुटबल कपको क्वाटर फाइनल खेलमा दुई समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । चोरमारा र प्रगतिनगरबीच भइरहेको खेलको क्रममा प्रगतिनगरका समर्थकले अश्लिल शब्द प्रयोग गरेको भन्दै चोरमाराका समर्थकले प्रगतिनगरका युवासँग सामान्य भनाभन गरेका थिए । सामान्य भनाभनमै चोरमाराका समर्थकले हातपात सुरु गरेपछि सो झडप भएको हो । झडपमा परी घाइते हुनेमा प्रगतिनगरका ३० वर्षीय सुन्दर श्रेष्ठ, सरोज परियार र अमृत सुस्लिङ मगर रहेका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको बताइएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । घाइतेको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।     झडपले ठूलोरुप लिएपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको  छ ।