चिनियाँ राष्ट्रपति सीले अर्को साता भारत भ्रमण गर्ने

भदौ २४, काठमाडौँ-चिनियाँ राष्ट्रपति सी जिनपिङले आउँदो साता चीनको एसियाली प्रतिद्वन्द्वी भारतको पहिलोपटक भ्रमण गर्ने भएका छन् । यसबीच बेइजिङले आफ्ना छिमेकीलाई घेरिरहेको छ भन्ने उनीहरूको त्रास कम गर्न प्रयास गरिरहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानसँग नयाँ स्तरको सम्बन्ध विस्तार गर्ने दृढता व्यक्त गर्नुभएको छ भने यसलाई चीनको बढ्दो क्षमताको प्रतिरोधमा क्षेत्रीय गठबन्धन विस्तार गर्ने प्रयासको रूपमा लिइएको छ ।  चिनियाँ राष्ट्रपति सीको चार मुलुकको भ्रमण बिहीबार मध्यएसियाली मुलुक ताजिकिस्तानबाट आरम्भ हुनेछ । यसपछि उहाँ दक्षिण एसियाली द्वीपमुलुक मालद्वीप तथा श्रीलङ्का पुग्नुहुनेछ । यसपछि उहाँ भारत पुग्नुहुने चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयले अन्य निश्चित मितिका विषयमा जानकारी नदिए पनि भ्रमण सेप्टेम्बर १९ मा अन्त्य हुने उल्लेख गरेको छ ।  भारत तथा चीनबीचको सम्बन्ध हिमाली क्षेत्रमा विवाद तथा आशङ्काका कारण धमिलो बनेको छ । सन् १९६२ मा यी दुई मुलुकबीच केही समय युद्धसमेत भएको छ ।      बेइजिङले दक्षिण एसियामा पाकिस्तान तथा श्रीलङ्कामा बन्दरगाह सुविधा स्थापना गर्न प्रयास गरिरहेको छ । केही भारतीय विशेषज्ञले यसलाई भारत घर्ने प्रयासको रूपमा हेरेका छन् ।