गोलमेच सम्मेलन गर्न मिति र एजेन्डामा सहमति भएन

भदौ २५,काठमाडौं–सर्वपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलनको मिति र एजेन्डाबारे प्रमुख चार दल सम्मिलित कार्यदलमा विवाद देखिएको छ । लगातार तीन दिनको छलफलबाट पनि सहमति जुटाउन नसकेपछि कार्यदलले शीर्ष नेताहरुलाई नै जिम्मा दिने निर्णय गरेको छ । गत १९ भदौमा बसेको कांग्रेस,एमाले,एमाओवादी र नेकपा–माओवादीको बैठकले सम्मेलनको मिति,विधि र विषयबस्तु तयार पार्न चारै दलका दुई–दुई प्रतिनिधि रहेको कार्यदल गठन गरेको थियो । शनिबार ,आइतबार र सोमबार लगातार छलफल गरेको कार्यदलको समयावधि मंगलबार सकिएको छ ।कार्यदलको बैठकमा कांग्रेस–एमालेले भदौ मसान्तभन्दा पछि सम्मेलन गर्न नसकिने अडान लिएका छन् । उनीहरुको अडानलाई सम्मेलनको प्रस्तावक नेकपा–माओवादीले सम्मेलन नगर्ने मनसायका रुपमा अथ्र्याएको छ । प्रमुख प्रतिपक्षी एमाओवादीले मितिमा धेरै नअल्झन दुबै पक्षलाई सुझाएको छ ।कार्यदलमा रहेका एमाले केन्द्रीय सदस्य अग्नी खरेलले मितिका विषयमा कुरा नमिलेको बताए । ‘हामीले कार्यदलको बैठकमा प्रष्ट रुपमा भनेका छौं,भदौ मसान्तसम्म नहुने भए राजनीतिक सम्मेलन गर्न सकिँदैन,संविधान निर्माणको कार्यतालिका फेरबदल गर्ने गरी राजनीतिक सम्मेलन गर्न सकिँदैन’खरेलले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।