विश्वको नवीनम शिक्षा प्रविधिलाई लागू गर्नुपर्छ : ओली

भदौ २४, काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय समितिको १८ औँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलनलाई सफल बनाउन शिक्षकको योगदान अतुलनीय रहेको बताएका छन् । अध्यक्ष ओलीले शिक्षकहरुले विश्वमा विकास भएका नवीनम शिक्षा तथा प्रविधिलाई स्वदेशमा लागू गर्नुपर्ने तथा उनीहरु नयाँ पुस्ताप्रति उत्तरदायी हुनुपर्ने समेत औँल्याएका छन् । अध्यक्ष ओलीले निर्धारित समयमा संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह गर्दै सहमतिमा संविधान जारी गर्न एमालेको  प्रयत्न रहने र त्यसो हुन नसकेमा  प्रक्रियामा गएर भए पनि देश तथा जनतालाई गरेको वाचा पूरा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सो अवसरमा शिक्षा सचिव विश्वप्रकाश पण्डितले अहिले ज्ञान तथा सीपयुक्त तथा  गुणस्तरीय शिक्षाको विकास गर्नुपर्ने खाँचो औँल्याए ।