सोह्रश्राद्ध आजदेखि सुरु

भदौ २४, काठमाडौँ- सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने सोह्रश्राद्धमा छोरा–छोरीहरुले आफ्ना दिवंगत पितृहरुको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् ।
घर नजिकका तीर्थ तथा तालकुण्डमा गइ स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ । काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा आज बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।

यो अवधिभर बाबुआमा नहुनेहरुले लसुन, प्याज, माछामासु लगायतका तामसी परिकारहरु खान नहुने धार्मिक परम्परा छ । आश्विन कृष्ण पक्षमा सूर्य कन्या राशिमा रहेको बेला पितृका निम्ति पर्व जस्तै हुने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्मिक ग्रन्थमा पितृको स्थान देवताको भन्दा पनि माथि रहने उल्लेख छ । ठूला चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुअघि पनि पितृको सम्झना गर्ने परम्परा रहेकाले बडादसैं र तिहार जस्ता ठूला पर्वअघि पितृ पक्षमा सम्पूर्ण पितृहरुको सम्झना गर्ने गरिएको विश्वास गरिन्छ ।