‘जातीय विभेदको अन्त्य जरुर्री ’–मन्त्री निधि

भदौ २४, काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गरिनुपर्ने बताएका छन् । बिपी जन्म शताब्दीको अवसरमा नेपाली काँग्रेस निकट भ्रातृ सङ्गठन नेपाल दलित सङ्घको प्रकाशन ‘दलित रुपान्तरण’ त्रैमासिक पत्रिका कार्यालयको उद्घाटन गर्दै उनले चेतनाको माध्यमबाट व्यावहारिक रुपमा छुवाछूत अन्त्य गर्नुपर्नेमा जोड दिए ।  बिपी कोइराला नेपाली समाजको रुपान्तरणका लागि सबैभन्दा उत्तम कदम चाल्ने पहिलो नेता भएको उनको भनाइ थियो ।  मन्त्री निधिले दलित सङ्घले प्रकाशन गरेको रुपान्तरण पत्रिकाले कुनै एउटा समुदायलाई मात्र रुपान्तरण गर्नुको सट्टा उत्पीडनमा पारिएका सबै समुदाय र मुलुकको आर्थिक, राजनीतिक र सामाजिक सवाललाई समेत उठान गर्नुपर्ने धारणा राखे । नेपाली काँगेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले आफू संविधानसभाको सदस्य भएको नाताले पनि आगामी संविधानमा दलित समुदायको अधिकार सुनिश्चित गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पहिलो संविधानसभामा दलित समुदायबाट ५० सभासद्को सहभागिता रहेको थियो भने दोस्रो संविधानसभामा सो समुदायबाट ४० जना सभासद्को सहभागिता रहेको छ ।