कोइरालाद्धारा देउवा र पौडेलमाथि गुटबन्दीको आरोप

भदौ २४,काठमाडौं-कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफू बिरुद्ध पार्टीभित्र गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका छन्।  लामो समयपछि सोमबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनले यसरी आक्रोश पोखेपछि बैठकसमेत अघि बढ्न सकेन। आजको कान्तिपुरमा खबर छ।  बैठकमा पौडेलले सम्वैधानिक तथा राजनीतिक सम्वाद समितिमा भएको सहमति र विवादका बिषय सभासद्हरुलाई जानकारी गराउनासाथ कोइरालाले सुशासन समितिमा जानु छ भन्दै मन्तव्य राखेका थिए। मन्तव्यको सुरुदेखि नै आक्रोशित बनेका कोइराला करिव १५ मिनेट बोलेपछि बैठकलाई केही नभनी बाहिरिए। बैठक सुचारु गर्ने या अन्त्य गर्ने भन्नेबारे संसदीय दलका नेता एवं प्रधानमन्त्री कोइरालाले केही पनि बोलेनन्। वरिष्ठ नेता देउवा र उपसभापति पौडेलले आफूहरुमाथि लगाइएको आरोपको प्रतिवाद गरेपछि बैठक स्थगित गरिएको थियो। देउवा र पौडेलले प्रतिवाद गर्दा कोइराला बैठकबाट बाहिरिइसकेका थिए।
स्रोतका अनुसार कोइरालाले देउवाले समानान्तर रुपमा खुलेको डेमोक्रयाटिङ लयर्स एसोसियसन -डिएलए) विशेष अधिवेशनलाई सम्वोधन गरेकोमा र पौडेलले वीपी विचार पदयात्रा कार्यक्रममा आफूलाई उपेक्षा  गरेको भन्दै आक्रोश पोखेका हुन्। पार्टीका कार्यक्रम र बैठकमा बसेरै बोल्ने गरेका कोइराला सोमबार भने उठेरै जंगिएका थिए।कोइरालाले पार्टी र सरकार संचालनमा समेत देउवाको असहयोग भएको बताएका थिए। ‘तपाईले पठाएका मन्त्रीहरुले समेत मलाई सहयोग गरेनन। सरकार र पार्टी प्रभावकारी चलाउन सकेन भनेर मलाईमात्रै भन्ने ? बैठकमा कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो पार्टीमा मेरो पनि ठुलो योगदान छ। सारा पार्टी बनाउनमा मैले दुःख गरेको छु। अहिले यस्तो अवस्थामा पुगें। पार्टी दलदलमा छ। यसको जिम्मा मैलेमात्रै लिने हो ?’
कोइराला सुरुमा उपसभापति पौडेललाई नयाँ गुटबन्दी सृजना गरेको बताए। वीपी विचार पदयात्रा आफूसंग परामर्श नै नगरी सुरु गरिएको गुनासो कोइरालाको थियो। पौडेल संयोजक रहेको पार्टीको नीति प्रतिष्ठान तथा विभागले एक महिने पदयात्रा कार्यक्रम गरेको हो।यस अघि पनि प्रतिष्ठानकै तर्फबाट पौडेलले मेची-महाकाली अभियान सुरु गर्दा गुटबन्दी गर्न खोजेको भन्दै पौडेलप्रति आक्रोशित भएका थिए।  ‘गुटबन्दी अन्त्य गर्छु भन्ने अनि आफै गुट बनाउदै हिड्ने ?’ पौडेलप्रति कोइरालाको आक्रोश थियो। त्यसपछि कोइराला देउवातर्फ फर्किदै समानान्तर रुपमा पार्टी चलाउन खोजेको भन्दै कडकए।  ‘शेरवहादुरजीले  मलाई सहयोग गर्न पर्दैन ? गुटको समानान्तर सस्था खोल्ने ? पार्टी चलाउने मेरोमात्रै कुरा हो ? पार्टी चलाउने जिम्मेबारी मेरो मात्रै हो’ कोइरालाको आक्रोश थियो।