तीनवटा गाउँका मानिस एउटै कुवाका पानी पिउन बाध्य

भाद्र २३, जाजरकोट–जिल्लाको जगतिपुर गाविसमा तीन गाउँका बासिन्दा घन्टौं हिँडेर एउटै कुवाको पानी पिउन बाध्य छन्।
कुस्तरा, बटालागाउँ र रोकायागाउँका बासिन्दालाई कुवामा पालो पाउन राति पनि जागराम बस्नुपर्छ। जगतिपुर– ७, ८ र ९ मा पर्ने यी गाउँका बासिन्दा सुक्खायाममा मेलसोता कुवामा रातभर लाइन बसेर पानी भर्छन्। वर्षामा भने धमिलो र फोहोर पानीका कारण झाडापखालाको प्रकोप फैलने गरेको स्थानीयले बताएका छन्। ती गाउँमा झन्डै १५० परिवारको बसोबास छ।
गाउँ नजिकमा पानीका मूल नभएकाले कुवाको फोहोर पानी पिउनुपर्ने बाध्यता भएको स्थानीय सूर्यबहादुर रोकायाले बताए। उनले भने,  ? गाउँ नजिक कुवा छैन। बाँच्नकै लागि पनि तीन गाउँका गाउँलेले एउटै कुवाको फोहोर पानी पिउनुपरेको छ। ?  पानीकै कारण बर्सेनि रोग फैलने गरेको उनले बताए।
फोहोर पानीको प्रयोगले झाडापखाला, आउँ ज्वरोलगायतका रोग फैलने गरेको स्वास्थ्यकर्मी बताउँछन्। अरु समयभन्दा वर्षाका बेला पानीजन्य रोग फैलने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। वर्षातको समयमा कुवामा पानी धेरै भए पनि फोहोर हुने समस्या छ स्थानीय गोपाल बटालाले भने।
सुक्खा समयमा भने कुवामा पानी कम हुँदा रातभर पालो पर्खेर पानी भर्नुपर्ने हुन्छ। दिन–रातै कुवामा गाग्रीका लाइन हुन्छन्।  ? के गर्ने पिउने पानीको सुविधाका लागि नेतादेखि खानेपानी कार्यालयमा भनियो कतैबाट पनि सुनुवाइ हुँदैन बटालागाउँकी भगवती बटालाले बताइन्।
पानीका मुहान नजिक नभएकाले ती गाउँमा पानीको व्यवस्था गर्न बृहत् खानेपानी योजना सञ्चालन गर्नुपर्ने जिल्ला खानेपानी सरसफाइ तथा सबडिभिजन कार्यालयले जनाएको छ। सानोतिनो रकमले यहाँको बस्तीमा खानेपानी नपुग्ने भएका कारण ठूलो आयोजनाको आवश्यकता परेको हो। यहाँ आफ्नै गाविसमा खानेपानीको मुहान छैन छिमेकी पुन्मा गाविसबाट पानी ल्याउनु पर्ने भएका कारण समस्या भएको छ। रासस