एमाओवादी मोर्चाले सम्झ्यो पृथ्बीनारायण

भदौ २२,काठमाडौं-पृथ्बीनारायण शाह जन्मेको पुस २७ गते राष्ट्रिय एकता दिवस पहिला धुमधाम मनाइन्थ्यो। जनआन्दोलनपछि बनेको सरकारले त्यसलाई नमनाउने निर्णय गर्यो। भर्खर शान्ति प्रक्रियामा आएको माओवादीले सामन्तवादी राजतन्त्रका सुरुवात गर्ने राजा भएको भन्दै रद्द गर्न दवाव दिएको थियो।

त्यही एमाओवादीको जातीय मोर्चाले यसपालि राष्ट्रिय एकता दिवस मनाउने भएको खबर आजको कान्तिपुरमा छापिएको छ। मोर्चाका महासचिव गोपाल किराँतीले नेपाल एकीकरण गर्नु राम्रो भएको तर्क गरे। ‘एकीकरण राम्रो कुरा हो,त्यसकारण पृथ्वीनारायणलाई सम्झन लागिएको हो,’ उनले भने,‘यो सम्झनु भनेको मुलुक नयाँ एकीकरणको सुरुवात गर्नु पनि हो।’

मोर्चाको बैठकले पृथ्वीनारायणले जुन उद्देश्यका लागि एकीकरण गरेको भए पनि त्यसले नेपाल एक गराउन महत्वपूर्ण भूमिका खेलेको निचोड निकालेको हो । किराँतीले यो अभियानले सबै जातजाति,क्षेत्रलाई एकीकरण हुन सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’पुस २७ गते नयाँ राष्ट्रिय एकीकरणको पक्षमा जनप्रदर्शन, प्रतिरोध सभा गरिनेछ।’