सुनकाशी ताल फुट्दा पानीको सतह घट्यो, सानीमा हाइड्रोमा क्षति

भदौ २२, सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको जुरे माङ्खा क्षेत्रमा एक महिना अघि पहिरो गई थुनिएको सुनकोशी नदीको कृत्रिम बाँध फुटेको छ । नदीको बहाव खुलाउन नेपाली सेनाले खोलेको ठाउँबाट कृत्रिम बाँध फुटेपछि पहिरो पन्छाउन प्रयोग गरिएको स्काभेटर, १० वटा मोटरसाइकल र लामो साँघु नदीको पुल पानीको बेगले बगाएको छ । यस्तै सानीमा हाइड्रो पावरमा पनि क्षति पुर्याएको छ । आज विहान करिब साडे ३ बजेतिर ताल फुटेको स्थानीय प्रशासनले जनाएको छ ।

बाँध फुटेपछि कृत्रिम तालमा पानीको सतह घट्दै गएको छ भने तल्लो तटिए क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन् । पानी घट्दै गए पनि जोखिम भने नटरेको प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिनुभयो । पानीको बहाव बढेकोले नदी किनारमा नजान सबैलाई स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कृत्रिम बाँध फुटेर नदीको धार परिवर्तन हुदा अरनिको राजमार्गमा बनाइदै गरेको सडकमा समेत क्षति पुगेको जिल्ला प्रशाशन कार्यालय सिन्ध’पाल्चोकले जनाएको  छ । गत साउन १७ गते खसेको पहिरोमा पुरिएर १ सय ५६ जनाको मृत्यु भएको थियो भने करोडौं मूल्य बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ ।