चेली मात्र नभएर अङ्ग बेच्ने क्रम पनि बढ्दो

 भदौ २०,काठमाडौँ– मानव बेचबिखनकोे आयाम फेरिएर अहिले शरीरका अङ्ग बेचबिखन गर्ने क्रम सुरु भएको छ ।पहिला महिला मात्र बेचिन्छन् भन्ने ठानिन्थ्यो तर अहिले महिला र पुरुष दुवैको मिर्गाैला, कलेजो, र रगतको तस्करी गर्ने करिब १७ प्रतिशत रहेका छन् । त्यसमा तीनमध्ये दुई पीडित महिला हुने गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।मानव बेचबिखन तथा ओसारपार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई बेश्यावृतिमा लगाउने वा बेश्यागमन गर्ने प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने कामलाई बुझिन्छ ।

मानव बेचबिखनमा पर्ने करिब १०० मध्ये एक जनाको मात्रै उद्धार हुने गरेको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ बनिसकेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव बेचबिखनको समस्या झन जटिल बन्दै गएको देखिन्छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव सुनिता नेपालका अनुसार मानब बेचबिखनको समस्या बढ्दै गएको हुनाले सचेत गराउने उद्देश्यका साथ कक्षा ६ र ७ मा सामाजिक अध्ययन पाठ्यक्रममा समावेश गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा प्राप्त गर्ने पीडित तथा प्रभावितको सङ्ख्या एक हजार ३४ रहेको छ । तीमध्ये महिलाको सङ्ख्या ९५७ रहेको देखिन्छ भने बेचबिखनबाट पीडितको सङ्ख्या चार रहेको मन्त्रालयले जारी गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०७० मा उल्लेख छ ।

बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनःस्थापना केन्द्रको स्थापना गरेको छ । हाल केन्द्रमा ७४० महिला छन् । माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाका अनुसार मानव बेचबिखनमा अहिले परिर्वतन आएको छ । “पहिला चेलीबेटी भारतको बम्बईमा लगेर बेचिन्छ भन्ने थियो, सीमित जिल्लाका महिला बेचिन्थ्ये तर अहिले महिला, पुरुष दुवैको शरीरको अङ्ग पनि बेचिन थालेको छ ।”

उनले भारतमा मात्र नभएर वैदेशिक रोजगारको नाममा खाडी मुलुक, अफ्रिकामा पनि महिलाहरू बेचिने गरेका छन् भनिन्े । हालसम्म माइती नेपालले २५ हजार चेलीबेटीको उद्धार गरिसकेको जनाएको छ । खाडी मुलुकमा वैदेशिक रोजगारको सिलसिलामा गएर बेचिएका चेलीलाई उद्धार गर्ने काम पौरखी नामक संस्थाले पनि गर्दै आएको छ । पौरखीका अध्यक्ष मञ्जु गुरुङका अनुसार भारतमा यौन शोषणका लागि भनेर बेचबिखन हुने गथ्यो भने खाडी मुलुकमा वैदेशिक रोजगारमा जाने भने क्रममा महिला बेचबिखनमा पर्ने गरेका छन् ।

सो संस्थाले हालसम्म वैदेशिक रोजगारमा परेर बेचिएका १२ सय महिलाको उद्धार गरेको जनाएको छ । ‘जागौँ जागौँ, मानव बेचबिखन रोक्न सबै लागौँ’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको आठौँ राष्ट्रिय दिवस अवसरमा यही भदौ १८ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र माइती नेपाललगायत गैरसरकारी संस्थाले संयुक्तरूपमा सो दिवस मनाउन लागेको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन लागेको हो । दिवस मनाउन महिलामन्त्री नीलम केसीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।

गम्भीर सामाजिक र आपराधिक समस्या विश्वव्यापी रुपमा रहेका लागू औषधि र अवैध हातहतियारको कारोबार पछिको फाइदाजनक भनिएको अवैध व्यवसाय विश्वव्यापी रुपमा हुने मानव बेचबिखनमध्ये ७५ देखि ८० प्रतिशत बेचबिखन यौनजन्य शोषणको लागि हुने गरेकोे मन्त्रालयले जारी गरेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०७० मा प्रतिवेदनमा उल्लेख छ । विश्वभरमा करिब दुई करोड ७० लाख वयस्क र एक करोड ३० लाख बालबालिका बेचबिखनमा पीडित हुने गरेका छन् ।