प्रज्ञा प्रतिष्ठानहरूले पाए पदाधिकारी

भाद्र २०,काठमाडौ- महिनौंदेखि रिक्त तीन प्रज्ञा-प्रतिष्ठानमा सरकारले पदाधिकारी नियुक्त गरेको छ। संस्कृति मन्त्रालयबाट स्वीकृतिका लागि गएको पदाधिकारीहरूको नामलाई प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार अनुमोदन गरेका हुन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा गंगाप्रसाद उप्रेती, संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा सरुभक्त र ललितकला प्रज्ञा प्रतिष्ठानमा रागिनी उपाध्याय कुलपति नियुक्त भएका छन्। नियुक्तिको औपचारिक घोषणा भने हुन बाँकी छ।

प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विष्णुविभू घिमिरे र सदस्यसचिव जीवेन्द्रदेव गिरी छन्। उप्रेती यसअघि प्रज्ञा-प्रतिष्ठानमा उपकुलपति र गिरी प्राज्ञ परिषद् सदस्य थिए। स्रोतका अनुसार प्राज्ञ परिषद्मा प्रा. दिनेशराज पन्त, अमर गिरी, ज्ञानु पाण्डे, नर्मदेश्वरी सत्याल, श्रवण मुकारुङ, उषा ठाकुर, मातृका पोखरेल, हेमांगराज अधिकारी छन्।

संगीत नाट्यको उपकुलपतिमा शम्भुजित बास्कोटा र सदस्यसचिवमा गणेश रसिक छन्। प्राज्ञ परिषद्मा रमेशरञ्जन झा, पुष्कर गुरुङ, पवित्रा घर्तीमगर, उन्नति शिला बोहरा, उदय श्रेष्ठ र माधव प्रधान छन्। ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिमा शारदा चित्रकार र सदस्यसचिवमा नवराज भट्ट छन् भने प्राज्ञ परिषद्मा सुष्मा राजभण्डारी, निमा घ्याम्जो बल, धनबहादुर याक्खा, सुबोधचन्द्र दास, रमेश श्रेष्ठ र नारदमणि हार्तुम्छाली छन्। संस्कृतिमन्त्री भीमप्रसाद आचार्यको संयोजकत्वमा रहेका तीन अलग-अलग सिफारिस समितिको सिफारिसलाई प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्रीले स्वीकृति दिएपछि नियुक्ति हुने व्यवस्था छ। स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार कुलपतिहरूको शपथग्रहणको व्यवस्था मिलाउन प्रधानमन्त्री कोइरालाले मुख्य सचिव लीलामणि पौडेललाई निर्देशन दिइसकेका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

प्रज्ञा-प्रतिष्ठान गत माघदेखि, ललितकला प्रतिष्ठान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठान वैशाखदेखि पदाधिकारीविहीन थिए। सिफारिस समितिहरूले दलीय भागबन्डाको आधारमा नाम पठाएका हुन्। स्वीकृत नामावली सत्तारूढ कांग्रेस, एमाले र मुख्य प्रतिपक्षी एमाओवादीबीचको बाँडफाँडपछि तय भएको हो।