एमए ६० जहाज २ महिनामा चौथोपटक थन्कियो

भदौं २०, काठमाडौं- नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा प्रयोग गरेको चिनियाँ एमए ६० नामक ५६ सिट क्षमताको जहाज उडान सुरु गरेको दुई महिनाभित्रै चौथोपटक थन्किएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, निगमले यो जहाज दुई महिनामा ४० दिन ग्राउन्डेड भइसकेको छ ।

यो जहाज २० दिन लामो ग्राउन्डेडपछि बिहीबारबाट उडान सुरु गरेकै दिन दायर पन्चर भएर फेरी ग्राउन्डेड भएको निगम स्रोतले बतायो । पछिल्लो पटक इन्धन भल्भमा समस्या देखिएर साउन ३० देखि ग्राउन्डेड भएको यो जहाज २० दिनपछि उडान सुरु गरेको थियो ।

वैशाख १४ मा भित्रिएको जहाजले असार ११ मा नियमित उडान सुरु गरेको थियो । असार १६ गते विराटनगरमा चरासँग विमान ठोक्कियो भने असार ३१ मा राडारमा खराबी भएर थन्कियो । साउन ३० मा इन्धन भल्भमा समस्या आयो अनि भदौं १९ मा टायर पन्चर भएर ग्राउन्डेड भयो ।